समस्याग्रस्त सहकारीबाट एक करोड भन्दा बढी बचत फिर्ता माग्नेले स्वघोषणा फारम भर्नुपर्ने

२०८३-०४-२७
 0  4
समस्याग्रस्त सहकारीबाट एक करोड भन्दा बढी बचत फिर्ता माग्नेले स्वघोषणा फारम भर्नुपर्ने

काठमाडौं । सरकारले विभिन्न समयमा समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाहरुबाट एक करोड वा सोभन्दा बढी बचत रकम फिर्ता दाबी गर्ने बचतकर्ताहरुले अब स्वघोषणा फाराम समेत भर्नुपर्ने भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साउन १९ गते एक सूचना जारी गरेर विभिन्न सहकारीमा एक करोड वा सो भन्दा बढी रकम दावी गर्दै अनलाइन मागदाबी पेश गरेका बचतकर्ताहरुलाई स्वघोषणा फारम समेत बुझाउन सूचित गरेको हो ।

समितिले बचतको स्रोत, वैधता र अन्य संस्थाबाट रकम नलिएको वा दोहोरो दाबी नपरेको पुष्टि गर्ने उद्देश्यले फारम भर्नुपर्ने व्यवस्था गरेको हो ।

‘अनलाइन मागदाबी प्रणालीमा दाबी गरेका बचतकर्ताले संलग्न बमोजिमको स्वघोषणा फाराम भरी यथाशीघ्र यस कार्यालयमा बुझाउनुहुन समितिको मिति २०८३/०३/२५ को निर्णय बमोजिम सम्बन्धित बचतकर्ताहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ ।

बचतकर्ताले फारममा दाबी गरेको रकमको स्रोत र वैधता बारे विस्तृतमा घोषणा गर्नुपर्ने व्यवस्था छ । सदस्यले बचत रकम पूर्ण रुपमा वैधानिक, नैतिक र प्रचलित नेपाल कानून बमोजिमको आयस्रोत जस्तैः व्यापार, पारिश्रमिक, घरजग्गा बिक्री, पैतृक सम्पत्ति, वैदेशिक रोजगारी आदि बाट आर्जन गरी जम्मा गरेको प्रमाणित गर्नुपर्ने छ ।

यसैगरी यस्तो रकम सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिमको कसूर, आतंकवादमा वित्तीय लगानी, भ्रष्टाचार वा अन्य कुनै पनि प्रकारको फौजदारी कसूरजन्य कार्यबाट आर्जन नगरेको समेत स्वघोषणा गर्नुपर्ने भएको छ ।

यस्तै सदस्यले बचत फिर्ता सम्बन्धी विषयमा कुनै अड्डा, अदालत, न्यायिक वा अर्धन्यायिक निकाय, प्रहरी वा अनुसन्धान गर्ने निकायमा कुनै पनि नालेस÷दाबी र उजुरबाजुर नगरेको फारमा पुष्टि गर्नुपर्ने हुन्छ । साथै बचत मिलानको रकम बराबरको बचतको हकमा बचत फिर्ताको विषयलाई लिएर भविष्यमा समेत कतै नालेस वा उजुरबाजुर नगर्ने समेत प्रतिवद्धता जनाउनुपर्ने भएको छ ।

समितिले वेबसाईटमा उपलब्ध गराएको फारामको कुनै महलमा ठाउँ अपुग भएमा छुट्टै पानामा समेत बाँकी विवरण भर्न सकिने व्यवस्था गरेको छ ।

फारम डाउनलाेड गर्न याे  लिंकमा जानुहाेस ः https://coopmc.gov.np/content/13285/in-troubled-cooperatives--rs-very-important-information-regarding/

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow